15/12/2022
प्रेस विज्ञप्ति
15.12.2022
आरिथाङ समष्टिबाट 25 जना युवा-नारीले विपक्षी पार्टी त्याग गरेर एसकेएममा लिए प्रवेश
गान्तोकको लाल बजारस्थित सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्टिस्तरीय कार्यालयमा आज पार्टीको एक समावेशी कार्यक्रम आयोजन गरियो। यस अवसरमा पार्टीका सेक्रेटेरी जेनरल श्री अरुण उप्रेती मुख्य अतिथि रहेका थिए भने पार्टीको नारीशक्ति प्रभारी एवं खादी बोर्डकी अध्यक्ष श्रीमती छुङछुङ भोटिया, सीएलसी अध्यक्ष श्री टेम्पो राप्गे भोटिया, पार्टीको युवा प्रकोष्ठका मुख्य समन्वयक श्री सहदेव शर्मा लगायत अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।
समावेशी कार्यक्रममा आरिथाङ समष्टिबाट 25 जना युवा-नारीहरूले अन्य विपक्षी पार्टी त्याग गरेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा प्रवेश लिए। यसमध्ये एसडीएफ पार्टीका सक्रिय कार्यकर्ता, एसडीएफकै पूर्व सीईसी सदस्य, समष्टि स्तरीय समिति सदस्य समेतले आफ्नो पार्टी छोड़ेर एसकेएम पार्टीको झण्डा समाए। सामेल हुनेहरूलाई पार्टीका सेक्रेटेरी जेनरल श्री अरुण उप्रेतीले खदा लगाएर झण्डा प्रदान गरी पार्टीमा स्वागत जनाए।
आफ्नो संक्षिप्त सम्बोधनमा सेक्रेटेरी जनरल श्री अरुण उप्रेतीले आज पार्टीमा समावेश हुनेहरूले हामी पार्टीमा नयाँ सदस्य हौं भनी अफ्ठेरो नमान्ने आह्वान गर्दै एसकेएम पार्टीमा कोही पनि सदस्य नयाँ र पुरानो नहुने जनाए। उनले क्षेत्रको समग्र विकासको दिशामा आफू लागिपरेको बताउँदै अब अझ ऊर्जा र दृढ़ताको साथ काम गर्ने उनले बताए। बोल्ने भन्दा धेरै काम गर्ने नीति एसकेएममा भएको कारण पार्टी अध्यक्षको निर्देशन अनुरुप आफूले क्षेत्रको विकासमा काम गरिरहेको अवगत गराए। शहरी क्षेत्रका गरीब जनताको निम्ति सिक्किम शहरी गरीब आवास योजना अन्तर्गत आफ्नो समष्टिका सबै गरीब परिवारलाई घर उपलब्ध गराउने उनले वचन दिए। यसरी नै आफ्नो आरिथाङ समष्टि शहरी क्षेत्रमा परेको हुनाले शहरी क्षेत्रमा गरिनुपर्ने सड़क, पानी, बिजुली जस्तो आवश्यक पूर्वाधारहरूको निर्माण अथवा नवीकरण वा मरम्मतिको काम लगातार भइरहेको जनाउँदै कतिपय उदाहरणहरूसमेत दिए।
उनले आगामी 21 दिसम्बरको रोलु आयोजन हुने रोलु पूजा एवं रोलु दिवसमा आरिथाङ समष्टिबाट व्यापक रूपमा सहभागिता जनाउन पार्टी कार्यकर्ता अनि जनतालाई अपील गरे।
कार्यक्रमलाई नारीशक्ति प्रभारी एवं खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटिया, युवा प्रकोष्ठका मुख्य समन्वयक सहदेव शर्माले पनि सम्बोधन राखेका थिए।
रञ्जना प्रधान
सचिव, प्रचार-प्रसार
सिक्किम क्रान्तिकारी मोर्चा